मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

कम्युनिष्ट एकता नीति र विचारका आधारमै हुनुपर्छः अध्यक्ष दाहाल


  • 1.1K
    SHARES
  • http://indianyoga.school/posts/9629
    साउन १०, २०८२ शनिबार
    कम्युनिष्ट एकता नीति र विचारका आधारमै हुनुपर्छः अध्यक्ष दाहाल

    काठमाडौँ, १० साउनः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट एकता भावनामा होइन, स्पष्ट नीति र विचारमा आधारित हुनुपर्ने बताएका छन् ।
    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको जन्मशताब्दी तथा ४७औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दलाल पुँजीवादका विरुद्ध संघर्ष गर्ने शक्तिबीच मात्रै एकता सम्भव हुने स्पष्ट गरे ।
    “म पनि कम्युनिष्ट एकताको पक्षपाती हो, तर विगतका अनुभवबाट पाठ सिक्नुपर्छ”, दाहालले भने, “नीति, विचार, रणनीति, कार्यशैली र आचरणको आधारमा मात्रै एकता सम्भव छ । पुष्पलालले पनि यस्तै एकताको पक्षमा आवाज उठाएका थिए ।”
    दाहालले विगतको वाम एकतालाई जनताले समर्थन गरे पनि त्यो टिक्न नसकेको स्मरण गर्दै भविष्यमा यस्तो एकता सफल बनाउन वैचारिक स्पष्टता अनिवार्य रहेको उल्लेख गरे । “अहिलेको अन्तरराष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय परिस्थिति, जनताको उत्पादन सम्बन्ध आदिको विश्लेषण नगरी एकता सम्भव छैन”, उनले भने।
    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि भावनाले मात्र कम्युनिष्ट एकता सम्भव नरहेको बताए । “अबको लक्ष्य वैज्ञानिक समाजवाद हो”, खनालले भने, “यसका लागि वैचारिक, राजनीतिक र सांगठानिक पुनःगठन आवश्यक छ ।”
    कार्यक्रममा अध्यक्ष दाहाल, नेता खनाललगायतले लेखक लोककृष्ण भट्टराईको पुस्तक ‘निर्वासन’ लोकार्पण गरेका थिए । सो पुस्तकमा पुष्पलाल श्रेष्ठको जीवनचक्र समेटिएको एमाले नेता कैलाश ढुंगेलले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij