मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार


  • 802
    SHARES
  • http://indianyoga.school/posts/5203
    मंसिर ६, २०८० बुधबार
    ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

    दोलखा । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।

    लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ ।

    सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मङ्गलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।

    सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको उनले बताए ।

    तस्करको समूहले सुन खरिदबापतको रकम क्रिप्टोकरेन्सी र डलर तथा यार्सागुम्बा र कस्तुरीको बिनासमेत पठाएर भुक्तानी गर्ने गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक खड्का बताउँछन् ।

    दोलखा प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का अधिकारीसहितको संयुक्त टोलीले करिब दुई महिना लगाएर गरेको अनुसन्धानका क्रममा सुन तस्करको समूहले चिनियाँ तस्करलाई नेपालबाट क्रिप्टोकरेन्सी अर्थात् डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँच सय ९३ युनिट युएसडिटी भुक्तानी गरेको देखिएको छ ।

    सो युनिट युएसडिटीको नेपाली कारोबार मूल्य करिब रु तीन खर्ब ८७ अर्बभन्दा बढी हुन आउँछ । नेपालमा क्रिप्टोकरेन्सी युएसडिटीको कारोबार प्रतियुनिट मूल्य रु एक सय ३३ देखि रु एक सय ३८ सम्म अवैधरूपमा कारोबार हुँदै आएको छ ।

    सुन तस्करी प्रकरणको अनुसन्धानमा सिआइबीबाट खटिएका प्रहरी निरीक्षक रामकृष्ण पाठकका अनुसार सो रकम विभिन्न १२ डिजिटल वालेटको प्रयोग गरी क्रिप्टोमार्फत भुक्तानी गरिएको हो ।

    यसरी भुक्तानी गरिएको रकम सुन तस्करीसँगै अन्य तस्करीसँग पनि जोडिएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

    प्रहरी अनुसन्धानका क्रममा सुन तस्करको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेका थिए ।

    तिब्बतबाट अवैधरूपमा सुन नेपाल भित्र्याई काठमाडौँ लगेर बिक्री गरेपछि पुनः त्यहाँबाट डलरलाई शिलबन्दी गरी प्याक गरेर लामाबगरको फलाकबाट डोरीमा बाँधेर खोला तारी चिनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक पाठकले बताए । -रासस

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij