मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

पत्रकारको सुरक्षामा राज्यको भूमिका आवश्यक


  • 865
    SHARES
  • http://indianyoga.school/posts/9640
    साउन ११, २०८२ आइतबार
    पत्रकारको सुरक्षामा राज्यको भूमिका आवश्यक

    कर्णाली, ११ साउनः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा संरक्षणमा राज्यको भूमिका अनिवार्य रहेको बताएका छन् ।
    कर्णाली प्रदेश सरकार अन्तर्गतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित पत्रकार स्वास्थ्य बिमा पोलेसी हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले पत्रकारिता पेसा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गरे ।
    “पत्रकारिता सधैँ सत्य खोज्ने, जनताको आवाज बुलन्द पार्ने पेसा हो,” मुख्यमन्त्री कँडेलले भने, “यस्तो संवेदनशील र कठिन जिम्मेवारी निर्वाह गर्ने पत्रकारको सुरक्षामा राज्यको चासो र संरक्षण अपरिहार्य हुन्छ।”
    उनले प्रदेश सरकार प्रेस स्वतन्त्रता र पत्रकार हितप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै राज्य र सञ्चारकर्मीबीच पारदर्शिता, आपसी सम्मान र सहकार्य आवश्यक रहेको धारणा राखेका छन ।
    मुख्यमन्त्री कँडेलले यो स्वास्थ्य बीमा कार्यक्रमले पत्रकार सुरक्षाप्रतिको राज्यको दायित्व बोध र मानव अधिकार तथा लोकतान्त्रिक मूल्यहरू प्रतिको प्रदेश सरकारको प्रतिबद्धता प्रमाणित गरेको विश्वास व्यक्त गरेका छन ।
    कार्यक्रममा कर्णाली प्रदेश सरकारले ६९३ जना क्रियाशील पत्रकारको स्वास्थ्य बिमा गराएको जानकारी दिइयो । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको सहकार्यमा सञ्चालित यस कार्यक्रम अन्तर्गत बीमित पत्रकारले वर्षमा रु ७० हजारसम्मको औषधोपचार सेवा लिन सक्ने व्यवस्था गरिएको छ।
    बीमा व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । मन्त्रालयका अनुसार कुल बीमा खर्च करिब रु १४ लाख रहेको छ । साथै, बिमित पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बीमा कम्पनीमा दाबी जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।
    नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष विष्णु शर्माले पत्रकार तथा सञ्चारकर्मीको सुरक्षाप्रति प्रदेश सरकारले देखाएको सक्रियता र संवेदनशीलतालाई ऐतिहासिक कदम भन्दै प्रशंसा गरे ।
    कार्यक्रममा मन्त्रालयका सचिव, कर्मचारी, पत्रकार महासङ्घका पदाधिकारी र विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij