मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति


  • 802
    SHARES
  • http://indianyoga.school/posts/9547
    साउन २, २०८२ शुक्रबार
    कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

    कर्णाली, २ साउन । कर्णाली प्रदेशमा विशेष मौलिक पर्व साउने सङ्क्रान्तिलाई देउडा खेल्दै र राँको बालेर लुतो फाल्दै भव्यताका साथ मनाइएको छ । मानव शरीर र समाजमा रहेका विकृतिहरूलाई विसर्जन गर्ने प्रतीकका रूपमा लुतो फाल्ने यो परम्परा विशेषगरी माथिल्लो कर्णालीका जिल्लाहरूमा पुस्तौंदेखि चल्दै आएको छ ।
    साउने सङ्क्रान्तिलाई कर्णालीमा केवल लुतो फाल्ने दिन मात्र नभई ‘देउडा पर्व’का रूपमा पनि लिइन्छ । विशेषतः जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालीकोटमा सुखदुःखका भावहरू देउडामार्फत व्यक्त गर्दै यो पर्व मनाइन्छ । पछिल्ला केही वर्षदेखि यो पर्व कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा समेत राँको बाल्ने, देउडा खेल्ने र सुखदुःख साटासाट गरेर मनाउन थालिएको छ ।
    यसै अवसरमा बिहीबार सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा जुम्ली एकता सेवा समाजको सहकार्यमा सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रद्वारा ‘देउडा विशेष कार्यक्रम’ आयोजना गरियो । कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, नागरिक अगुवा, बुद्धिजीवी र स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।
    कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार यो पर्व सामाजिक सद्भाव, आपसी मेलमिलाप र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने माध्यम हो । उहाँले भन्नुभयो, “कण्डारकको लुतो फाल्न विभिन्न औषधिमूलो, जडीबुटी, फलफूल र गेडागुडी मिसाएर राँको बनाइन्छ र त्यसलाई बाटोमा फाल्ने चलन छ । एउटा गाउँकाले अर्को गाउँलाई सम्बोधन गर्दै ‘ए फलाना गाउँका, लुतो लैजा, पाब्डो सडेको चिज लैजा’ भनेर पुकार्ने चलन छ, जुन एक आपसी मनोविनोद पनि हो ।”
    सिञ्जा सभ्यता संरक्षण तथा अनुसन्धान केन्द्रका सल्लाहकार मक्कबहादुर बुढाक्षेत्रीले कर्णालीको जीवन बोल्ने देउडा र साउने सङ्क्रान्तिबीच गहिरो अन्तरसम्बन्ध रहेकाले यसलाई सँगसँगै मनाइएको बताए । देउडा गायिका सुनसरा शाहीले देउडा सुखदुःख पोख्ने माध्यम मात्र नभई समाजका विकृति र विसङ्गतिविरुद्धको आवाज पनि भएको बताइन ।
    करिब पाँच हजार सर्वसाधारणको उपस्थितिमा सुर्खेतमा मौलिक देउडा खेल्दै र लुतो फाल्दै यो सांस्कृतिक पर्व सम्पन्न भएको छ । कार्यक्रमले कर्णालीको मौलिक संस्कृति र परम्पराको संरक्षणमा टेवा पुर्‍याएको सहभागीहरूले बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij